Message from the President
लुम्बिनी सेवा समाज, अमेरिका (Lumbini Service Society – USA) को आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत छ। विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीसँग ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध बोकेका हामी सबै नेपालीहरूलाई “सेवा र एकता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराले एकता बद्ध गर्ने सामूहिक अभियानको रूपमा लुम्बिनी सेवा समाज स्थापना गरिएको हो। यो संस्था पूर्ण रूपमा गैर–राजनीतिक, गैर–नाफा मूलक र सामाजिक संस्था हो, जसको मुख्य लक्ष्य नेपाली भाषा, साहित्य, कला, संस्कृति र संस्कारको संरक्षण, संवर्धन र पुस्तान्तरण गर्नु हो।
अमेरिकामा बसोबास गरिरहेका लुम्बिनीसँग ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध बोकेका व्यक्ति तथा परिवारहरू बीच आपसी सद्भाव, सहकार्य र सहयोगको भावना विकास गर्दै समुदायभित्र देखिने सामाजिक, सांस्कृतिक र मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्नु हाम्रो प्रमुख दायित्व हो। साथै, मातृ भूमि नेपाल, विशेषतः लुम्बिनी क्षेत्रमा सञ्चालित सेवा-मूलक तथा कल्याणकारी कार्यहरूमा सहयोग पुर्याउनु पनि हाम्रो संस्थागत प्रतिबद्धता हो। हाम्रो विधानले संस्थालाई पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक रूपमा सञ्चालन गर्ने स्पष्ट मार्गदर्शन दिएको छ।
साधारण सभा, कार्यसमिति, संरक्षक, उप–समिति तथा सल्लाहकार संरचनामार्फत हामी सबै सदस्यहरूको सहभागिता, सुझाव र नेतृत्वलाई सम्मान गर्दै अघि बढिरहेका छौं। महिला, युवा, संस्कृति र खेलकुद जस्ता क्षेत्रहरूमा विशेष ध्यान दिँदै समुदायको समग्र विकासमा योगदान पुर्याउने हाम्रो निरन्तर प्रयास रहनेछ।
लुम्बिनी सेवा समाज यहाँहरूको साझा संस्था हो। यसको सफलता, प्रभाव र दिगोपनमा सबै सदस्य, शुभेच्छुक, स्वयंसेवक र सहयोगहरूकै सक्रिय सहभागितामा निर्भर गर्दछ। म सम्पूर्ण सदस्यज्यूहरूलाई संस्थाका गतिविधिहरूमा सक्रिय रूपमा जोडिन, नयाँ विचारहरू प्रस्तुत गर्न र सेवा तथा एकताको यात्रामा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु। अन्त्यमा, संस्थाको स्थापना देखि आजसम्म योगदान पुर्याउनु हुने संस्थापक अध्यक्ष तथा संरक्षक ज्यु , कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, दाता तथा स्वयंसेवकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईहरूको साथ, सहयोग र विश्वासले लुम्बिनी सेवा समाजलाई अझ सशक्त, प्रभावकारी र उदाहरणीय संस्थाको रूपमा अघि बढाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।